कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना, पदयात्रामा नजान र धान नकाट्न मौसमविद्को सुझाव

मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि शनिबारसम्म नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने भन्दै सचेत रहन आग्रह गरेको छ।

बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको र यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।

‘बंगालको खाडीमा न्यून चापिय प्रणालीको विकास भइरहेको छ,’ मौसमविद् लामिछानेले भने, ‘आगामी बुधबारदेखि त्यो चक्रवातमा परिणत हुने देखिन्छ।’

उनले बुधबारदेखि नेपालको कोसी, बागमती र गण्डकी प्रदेशमा त्यसको प्रभाव पर्नसक्ने बताए। ‘बिहीबारदेखि त्यसको प्रभाव अझ बढ्छ। शनिबार दिउँसोसम्म त्यसले नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात गराउने सम्भावना छ।’

पदयात्रामा ध्यान दिन सुझाव

यो अवधिमा पर्वतारोहण र हिमाली जिल्लाको पदयात्रामा पनि विशेष ध्यान दिन मौसमविद्ले आग्रह गरेका छन् । विशेष गरी बिहीबारदेखि शनिबारसम्म पदयात्रा नगर्न मौसमविद्को सुझाव छ ।

“आगामी बिहीबार, शुक्रबार, शनिबारको समयमा पानी पर्न सक्ने, हिमपात हुन सक्ने सम्भावना विशेष गरी हिमाली जिल्लाहरूमा बढी रहेको हुनाले पैदलयात्री अथवा पर्यटकहरूले सावधानी अपनाउनुपर्ने देखिन्छ,” मौसमविद् लामिछानेले भने ।

पदयात्रामा गइसकेको अवस्थामा सुरक्षित स्थानमा आएर बस्न पनि उनले आग्रह गरे । “यदि, (पदयात्राको) योजना बनाउँदै हुनुहुन्छ भने त्यो समयमा बुझेर मात्रै, मौसमसँग सम्बन्धित जानकारी बुझेर मात्र योजना बनाउनुहोला,” उनले भने, “यदि, गइसक्नुभएको छ भने सुरक्षित स्थानमा आएर बस्नुहुन अनुरोध गर्दछु ।”

धानबालीमा के गर्ने ?

अहिले धानबाली भित्र्याउने समय पनि हो । त्यसैले बिहीबारअगावै धानबाली भित्र्याइसक्न वा केही दिनपछि अर्थात् कात्तिक १५ गतेपश्चात् काट्न उनले सुझाव दिए । धान भिज्ने वा डुब्ने ठाउँ भए पानी कटान गरेर सुरक्षित राख्ने उपाय अपनाउन पनि उनले आग्रह गरे ।

“बिहीबार, शुक्रबार र शनिबार पानी पर्न सक्ने सम्भावना बढी रहेकोले जुन धानबाली भित्र्याउँदै हुनुहुन्छ भने त्यो समयभन्दा अगाडि नै भित्र्याउनुहोला,” उनले भने ।

मौसम फेरबदल भइरहने हुनाले अद्यावधिक सूचनाबारे अपडेट भइरहन उनले आग्रह गरे । तर, आइतबार, सोमबार र मंगलबार भने देशभर नै वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।