नवलपुर, कात्तिक ६ गते । नवलपुरको देवचुली नगरपालिका–६ मा भएको अटो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जना बालबालिका, ५ महिला र एक पुरुष रहेका नवलपुर प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
देवचुलीको किर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ००४००१ स ००५१ नम्बरको सामान बोक्ने अटो ब्रेक फेल भई अनियन्त्रीत भएर ओरालोमा पल्टि दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा कावासोति–२ का ८ वर्षीया नम्रता लम्साल, देवचुली–१२ का ३४ वर्षीय बिष्णु पराजुली, ३६ वर्षीया देबी पराजुली लम्साल, ६५ वर्षीय छबिलाल पराजुली र १२ वर्षीया अनुस्का पराजुली घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए । उनका अनुसार टाउकोमा चोट लागेकी ८ वर्षीया नम्रताको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कावसोती–३ की ११ वर्षीया सुबिक्षा श्रेष्ठ, देवचुली–११ का १५ वर्षीय राहुल पराजुली, ४० वर्षीया सुमित्रा पराजुली, १७ वर्षकी झरना पराजुली, ११ वर्षका राजेश पराजुली, ७४ वर्षीया हरिकला पराजुली, १० वर्षका अनुप पराजुली, कावासोती–३ का ३४ वर्षीय पुनम श्रेष्ठ, १७ वर्षका सुवर्ण कुमार श्रेष्ठ घाइते भएका पण्डितले जानकारी दिए ।
घाइतेहरुको देवचुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर रिफर भएको प्रहरीले जनाएको छ । प्रहरीले अटो र अटो चालक कावसोती–२ का ४५ वर्षीय नन्द किशोर लम्साललाई नियन्त्रणमा लिएको जनाएको छ ।







