मापसे गरी अटो चलाउँदा दशैको मुखैमा नवलपुरमा एकको मृत्यु, ७ जना घाइते

नवलपुर, कात्तिक १ गते । नवलपुरको कावासोतीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अरु ७ जना घाइते भएका छन् । कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडक खण्डमा बिष्नुनगरबाट कावासोतीतर्फ जाँदै गरेको ग.प्र. ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई नहरमा पल्टिदा आठ जना घाईते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा कावासोती–१ हात्तीखोरकी ४१ वर्षीय ईशा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको कणरममा चितवनमा मृत्यु भएको हो ।

कावासोती–१ हात्तीखोरका अटो चालक ४४ वर्षीय मान सिंह थापा, २३ वर्षीया निशा सुनार, ५० वर्षीया फुलमाया सुनार, १७ वर्षीया जमुना गाहा मगर, २२ वर्षीय निर्मल गाहा, ७ वर्षीया रोनिशा सुनार र १८ वर्षका गंगा गाहा घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अलिन पण्डितले जानकारी दिए ।

घाइतेमध्ये चार जनालाई नवलपुर अस्पतालमा सामान्य उपचारका लागि चितवनका विभिन्न अस्पतालमा रेफर गरिएको छ भने अन्य दुई जनाको नवलपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते चालक थापालाई भने सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

थापाले मादक पदार्थ सेवन गरी अटो चलाएको र आवश्यक कागज पत्र पनि साथमा नबोकेको पाइएको पण्डितले जानकारी दिए ।