नवलपुर, भदौ २७ गते । नवलपुरमा सिँचाइ प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर लगातार चोरी हुन थालेका छन् । चार दिनको अन्तरालमा जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट सिँचाइका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी भएका हुन् ।
गएराति गैँडाकोट नगरपालिका–१३, सिख्रौलीस्थित सिख्रौली भूमिगत सिँचाइ उपभोक्ता समितिको बोरिङ सञ्चालनका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको छ । खेतमा सिँचाइका लागि राखिएको ट्रान्सफर्मर रातको समयमा चोरी भएको गैँडाकोट–१३ का वडाध्यक्ष मधुकर मल्लले जानकारी दिए ।
यसअघि भदौ २३ गते देवचुली नगरपालिका–१७, छिपेनी गुठीबगरीस्थित खेतमा सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको थियो । ट्रान्सफर्मर चोरी भएपछि स्थानीय किसानको सिँचाइ प्रभावित भएको छ ।
लगातार ट्रान्सफर्मर चोरी भएपछि सिँचाइका लागि खेतमा जडान गरिएका विद्युत् उपकरणको सुरक्षामाथि प्रश्न उठेको छ भने यसले किसनलाई चिन्तित बनाएको छ ।
खेत तथा सिँचाइ आयोजनामा राखिएका ट्रान्सफर्मर चोरीबाट जोगाउन सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ । दुवै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।









