नवलपुर, भदौ ३० गते । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ पेलेगास्थित घाँगी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुँवा निस्किइरहेको विषयको अध्ययन गर्न सरकारी विज्ञ टोली आउने भएकाे छ ।
खानी तथा भूगर्भ विभाग अधिकृत प्रकाश लुइटेलको नेतृत्वमा मंगलबार अध्ययन टोली यहाँ आउन लागेको हो । सोमबार काठमाडौँको लाजिम्पाटमा रहेको धौवादी फलामखानी र खानी तथा भूगर्भ विभागमा नवलपुरका सांसद राजन गौतम र मनीष खनालको टोली पुगेर धौवादी फलामखानी नजिकको पहाडमा निस्किरहेको धुवाँको मुस्लोका बारेमा जानकारी गराएको थियो ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश नापित लगायत सम्बन्धित विज्ञहरूसँग भएको छलफलपछि घटनाको वास्तविक प्रकृति, सम्भावित जोखिम तथा त्यसको वैज्ञानिक कारण पहिचान गर्न विभागका अधिकारी प्रकाश लुईटेलको नेतृत्वमा प्राविधिक टोली स्थलगत अध्ययन तथा अनुसन्धानका लागि आउन लागेको सांसद गौतमले जानकारी दिए ।

टोलीमा धौवादी आइरन कम्पनी लिमिटेडका भूगर्भवीद्, खानी तथा भूगर्भ विभागका भूगर्भविद्, पेट्रोलियम परियोजनाबाट एक जना भूगर्भविद् तथा नास्टबाट एक जना विशेषज्ञ सहभागी हुनेछन्। आवश्यक उपकरणसहित आउने टोलीले स्थलगत निरीक्षण, परीक्षण तथा वैज्ञानिक अनुसन्धान गर्ने बताइएकाे छ ।
प्लेगा गाँउबाट करिव पाँच सय मिटर दक्षिण पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्किहेको छ । पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा झरेको सानो पहिरोबाट धुवाँको मुस्लो निस्कने र आगो लाग्ने गरेको स्थानीयको भनाइ छ । लामो समयदेखि धुँवा निस्किरहेको र वरपर डढेलोसमेत लागेपछि स्थानीय त्रसित बनेका छन् ।
पहिरो खसेको स्थानबाट धुवाँ आउनुका साथै कहिलेकाहीँ ठूलो आवाजसमेत आउने गरेको छ । स्थानीयले बस्तीमा खतरा हुन सक्ने भन्दै धुवाँ निस्कनुको कारण तत्काल पत्ता लगाउन माग गरेका छन् । उनीहरूले त्यहाँ कुनै बहुमूल्य ग्यास वा धातुको खानी हुन सक्ने भन्दै त्यसबारे पनि अनुसन्धान गर्न आग्रह गरेका छन् ।
धुवाँ निस्किरहेको स्थानको तल्लो भागमा रहेको याल्ता खोलाको पानी फिटकिरीको स्वादजस्तो भएको र खोलाको किनार पहेँलो देखिएको स्थानीयको दम बहादुर सोमै मगरले बताए ।
स्थलगत अवलोकनपछि हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उक्त स्थान वरपर यसअघि पनि यस्तै धुवाँको मुस्लो आएको भएपनि अहिले पहिलेभन्दा धेरै धुवाँ निस्किएको र वरपरका काठ, जमिन पोलिएको बताइन् ।
‘‘हुप्सेकोट पालिका खानीको पालिका हो । धौवादीमा फलाम खानी पनि यही छ । अब हामी यो धुवाँसँग सम्बन्धित कारण पनि पत्ता लगाएर यसको समाधानतर्फ लाग्नेछौं,’’ अध्यक्ष पाण्डेले भनिन् ।
पहिरो गएको स्थानबाट करिव एक किलोमिटर उत्तरतर्फ पेलेगामा ३५ घरधुरी रहेको मानव बस्ती छ । यसरी पिरो गन्ध आउने काम नरोकिएपछि जमिनमुनी ग्यास रहेकोले विष्फोट हुने हो कि भन्ने चिन्ता बढेको अध्यक्ष पाण्डेले बताइन् ।
‘‘यहाँको यो समस्याका बारेमा हामीलाई पनि पटक–पटक जानकारी गराइएको थियो तर जाडोमा कुहिरो र हिउँदमा डढेलो लागेको हुन सक्ने भन्दै चुप लागेर बस्यौं, पछिल्लो पटकको अनुगमनले त्यो होइन रहेछ भन्ने पुष्टि भयो,’’ अध्यक्ष पाण्डेले भनिन् ।
नजिकै फलाम खानी
धुँवा निस्किएको क्षेत्रनजिकै धौवादी फलाम खानी रहेको छ । सरकारले त्यहाँ फलाम खानी सञ्चालन गरी फलाम र स्टिल उत्पादन गर्ने भनेको छ । सरकारले धौवादी फलाम कम्पनी नै खोलिसकेको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी धौवादी फलाम कम्पनी लिमिटेड २०७६ असोज ९ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको छ । फलाम खानी भण्डार पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलोमिटर उत्तरमा रहेको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पश्चिम नाम्जाकोटदेखि पूर्व धौवादी क्षेत्रमा रहेको छ ।
धौवादी फलाम कम्पनी लिमिटेडले फलाम खानी उत्खननसम्बन्धी योजना पनि तयार गरेको जनाएको छ । कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट ९ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा बुझाएको हो ।
खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ । धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । उक्त योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारसम्बन्धी थप अनुसन्धान तथा उत्खननकार्य अघि बढाउने जनाएको छ । नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो ।









