नवलपुरमा विद्युत् ट्रान्सफर्मर चोरको बिगबिगी, ९ दिनमा ३ वटा ट्रान्सफर्मर गायब

नवलपुर, भदौ २७ गते । नवलपुरमा सिंचाइ प्रयोजनका लागि जडान गरिएका विद्युत्  लगातार चोरी हुन थालेका छन् । यहाँ नौ दिनको अवधिमा तीनवटा ट्रान्सफर्मर चोरी भएका छन् ।

गएराति गैँडाकोट नगरपालिका–१२ को सुनबर्साबाट भूमिगत सिँचाइ उपभोक्ता समितिले बोरिङ सञ्चालनका लागि जडान गरेको ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष चक्रपाणि कंडेलले जानकारी दिए ।

यसअघि भदौ २७ गते गैँडाकोट–१३ सिख्रौलीस्थित सिख्रौली भूमिगत सिँचाइ उपभोक्ता समितिको बोरिङ र भदौ २३ गते देवचुली नगरपालिका–१७, छिपेनी गुठीबगरीस्थित खेतमा सिँचाइका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी भएका थिए । भोल्टेजका कारण घर नजिकै पनि राख्न नमिल्ने र खेतमै राख्दा राति कोही नहुने भएकाले चोरेको मनोबल बढेको गैँडाकोट–१२ का वडाध्यक्ष कंडेलले बताए ।

अझै चारवटा ट्रान्सफर्मर खेतमै रहेकाले कतिबेला चोरि हुन्छ भन्नै नसकिने अवस्था रहेको उनको भनाइ छ । खेतमा सिँचाइका लागि राखिएका ट्रान्सफर्मर रातको समयमा चोरी हुने क्रम बढेकापछि स्थानीय किसानको सिँचाइ प्रभावित भएको गैँडाकोट–१३ का वडाध्यक्ष मधुकर मल्लले बताए ।
लगातार ट्रान्सफर्मर चोरी भएपछि सिँचाइका लागि खेतमा जडान गरिएका विद्युत् उपकरणको सुरक्षामाथि प्रश्न उठेको छ । खेत तथा सिँचाइ आयोजनामा राखिएका ट्रान्सफर्मर चोरीबाट जोगाउन सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ ।

ट्रान्सफर्मर चोरीका घटनाको अनुसन्धान भइरहेपनि अहिलेसम्म सकैलाई पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।