विज्ञ टोलीको प्रारम्भिक अनुमान : चट्टानमा कार्बन मोनोअक्साइडले पहाडबाट धुँवा

बोमलाल गिरी
नवलपुर, भदौ ३१ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ पेलेगास्थित घाँगी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुवा निस्कनुको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ ।

खानी तथा भूगर्भ विभाग, धौवादी फलाम कम्पनी लिमिटेड र विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टबाट आएका विज्ञहरुको टोलीले चट्टानमा कार्वन मोनोअक्साइड नामक तत्व भएकाले जमिन मुनिबाट निरन्तर धुवा आइरहेको प्ररम्भिक अनुमान गरेको हो । टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनपछि टोली संयोजक एवं खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुईटेलले चट्टानमा कार्वन मोनोअक्साइड तत्वको मिश्रण भएकाले धुँवा आएको बताए । ‘‘कार्वन मोनोअक्साइडको मात्रा धेरै भएको भए आगो नै बल्न सक्थ्यो, तर मात्रा थोरै भएकाले धुँवा आइरहेको हो,’’ लुईटेलले भने, ‘‘अरु तत्वहरु पनि हुन सक्छन्, त्यसको विस्तृत विवरण नमूना परिक्षणको रिपोर्ट आएपछि मात्र थाहा हुन सक्छ ।’’

विज्ञ टोलीले माटो, पानी र चट्टानको नमून लिएर आएको र यसलाई ल्यावबाट परिक्षण गरेपछि थप विस्तृतमा भन्न सकिने बताएको छ । त्यहाँ कुनै बहुमूल्य ग्यास वा धातुको खानी हुन सक्ने भएकाले कुनै दिन विष्फोट हुन सक्ने भन्दै स्थानीय त्रसित भएपनि त्यस्तो खतरा नभएको टोलीले निष्कर्ष निकालेको लुईटेलले बताए ।

अध्ययन टोलीले स्थानीयलाई पानीमा एसिडको मात्र भेटिएको भन्दै उक्त पहाडबाट झरेको पानी (यात्ले खोला) उपभोग नगर्न स्थानीयलाई आग्रह गरेको छ । त्यस्तै धुँवा निस्केको ठाउँमा नजान, धुँवामा दाउरा नहाल्न र नआत्तिन टोलीले स्थानीयलाई आग्रह गरेको छ ।

सोमबार काठमाडौँको लाजिम्पाटमा रहेको धौवादी फलामखानी र खानी तथा भूगर्भ विभागमा नवलपुरका सांसद राजन गौतम र मनीष खनालसहितको टोली पुगेर धौवादी फलामखानी नजिकको पहाडमा निस्किरहेको धुवाँका बारेमा जानकारी गराउँदै अध्ययनका लागि तत्काल विज्ञ टोली पठाउन आग्रह गरेको थियो ।

यसअघि संसदमा समेत यो विषयले प्रवेश पाएको थियो । सोहीअनुसार यसको अध्ययन गर्न सरकारले पठाएको विज्ञ टोली मंगलबार नवलपुर आएर बुधबार स्थलगत अध्ययनको हो ।

आवश्यक उपकरणसहित आएको टोलीले स्थलगत निरीक्षण, परीक्षण तथा वैज्ञानिक अनुसन्धान गरेको भूगर्भवीद् लुईटेलले बताउनुभयो । पेलेगा गाँउबाट करिव पाँच सय मिटर दक्षिण पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्किहेको छ ।

पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा झरेको सानो पहिरोबाट धुवाँको मुस्लो निस्कने र आगो लाग्ने गरेको स्थानीयको भनाइ छ । लामो समयदेखि धुँवा निस्किरहेको र वरपर डढेलोसमेत लागेपछि स्थानीय त्रसित बनेका थिए ।

पहिरो खसेको स्थानबाट धुवाँ आउनुका साथै कहिलेकाहीँ ठूलो आवाजसमेत आउने गरेको छ । स्थानीयको दम बहादुर सोमैका अनुसार धुवाँ निस्किरहेको स्थानको तल्लो भागमा रहेको याल्ता खोलाको पानी फिटकिरीको स्वादजस्तो भएको र खोलाको किनार पहेँलो देखिए छ । पहिरो गएको स्थानबाट करिव एक किलोमिटर उत्तरतर्फ पेलेगामा ३५ घरधुरी रहेको मानव बस्ती छ भने नजिकै धौवादी फलाम खानी समेत रहेको छ ।