बोमलाल गिरी
नवलपुर, असोज ७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्किवासस्थित विनयी खोलाको भाँचिएको पुल डेढ वर्षदेखि अलपत्र परेको छ । २०८२ पुष २६ गते शिवम सिमेन्टको सामान बोकेर आएको एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेबी ट्रक पास हुने क्रममा पुल भाँचिएको थियो ।
भाँचिएको पुलका संरचना डेढ वर्षदेखि खोलामै छन् । तोकिएको भन्दा बढी तौल ओसारेर पुलमा क्षति पुर्याएको भन्दै सरकारले शिवम सिमेन्टलाई ८६ लाख रुपियाँ जरिवाना तिराएको थियो । तर पुल मर्मत तथा पुर्ननिर्माण कस्ले गर्ने भन्ने अन्योलका कारण लामो समयदेखि पुल अलपत्र परेको हो ।
नारायणघाट–बुटबल खण्डका ११३ किलोमिटर विस्तारका क्रममा रहेकाले उक्त खण्डमा पर्ने पुल निर्माणको जिम्मा एडीबी अन्तर्गतको आयोजनाले गर्नु पर्ने सडक विभाग अन्तर्गत पुल महाशाखाको भनाइ छ । बैदेशिक लगानीमा भइरहेका आयोजना क्षेत्र भित्रको काम सम्बन्धित आयोजनाले नै गर्नु पर्ने पुल महाशखाले बताएको थियो ।
तर आयोजनाले भने सम्झौतामा नभएकाले पुल बनाउन अस्वीकार गरेको ट । एडीबीको ऋण सहयोगमा विस्तार गरिरहेको सडक आयोजनाले ठेक्का सम्झौता हुँदा समावेश नभएकोले थप काम र योजना पुरा गर्न नसकिने बताएको आयोजनाका निर्देशक ईन्जिनियर चुडाराज ढकालले बताए । ‘‘हामीले ठेकेदार कम्पनीलाई आग्रह गरेका हौं, तर सम्झौतामा नभएको र बजेटले पनि नधान्ने भन्दै पुल निर्माण वा ममर्तन गर्न मानेन, सम्भौतामा नभएकाले बाध्यकारी बनाउन पनि सकिएन,’’ ढकालले भने ।
५ करोड नपुग्दा टेण्डर खोल्न ढिलाई
सडक आयोजनाले पुल नबनाउने भएपछि सरकार आफै बनाउने निष्कर्षमा पुगेको छ । उक्त पुल ५० वर्ष पुगिसकेकाले मर्मत गर्दा फेरी समस्या आउन सक्ने भएकाले नयाँ बनाउने निष्कर्षमा पुगेको सडक विभागले जनाएको छ ।
४५ करोडको स्रोत सुनिश्चितताका लागि लागत अनुमानसहित फाइल विपत कोषमा पठाए पनि ४० करोड रुपियाँको मात्र स्रोत सुनिश्चित भएकाले पाँच करोड नपुग्दा टेण्डर प्रकृया अघि बढाउन नसकिएको सडक विभाग अन्तर्गत सडक डिभिजन भरतपुरका प्रमुख ईन्जिनियर नारायणप्रसाद लामिछानेले बताए ।
‘‘एक पटक फाइल माथि पठाए पनि पाँच करोड रकम नपुगेर फाइल फिर्ता आयो, उक्त रकमको स्रोत सुनिश्चित नभइ टेण्डर प्रकृयामा जाँदा पछिलाई समस्या हुन्छ भनेर हामी अघि बढ्न सकेनौ,’’ लामिछानेले भने, ‘‘फेरी साउनमा फाइल माथि पठाएका छौं, स्रोत सुनिश्चित भएर आएमा दशै अघि नै टेण्डर खोल्ने योजना बनाएका छौं ।’’
मुख्य राजमार्ग भएकाले पहिलेको भन्दा यहाँ चौगुणा भार बहन क्षमता भएका सवारी साधनलाई पुराना पुलले थेग्न सक्ने अवस्था छैन । यस खण्डमा साना ठूला गरेर दैनिक १० हजारभन्दा बढी गाडी गुड्ने गर्छन् । त्यसमाथि ओभर लोड बोकेर आउने भारतीय गाडीको भार थेग्न धौ धौ हुन्छ । ओभर लोड बोकेर आउने गाडीलाई सामान्य जरिवाना गराउने प्रचलनले पनि पुल र सडकमा बढी क्षति हुने गरेको छ ।
यो पुल भाँचिएपछि लामो समयसम्म खोलामा डाईभर्सन बनाएर गाडी सञ्चालन गर्नु परेको थियो । धुलो खाँदै घण्टौं जाम सहनु पथ्र्यो भने डाइभर्सनको पनि ठेगान थिएन । पुल भाँचिएपछि २०८२ असार ५ गतेको मध्यराति काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको रात्रि बस डाइभर्सन पार गर्न खोज्दा विनयी खेलाले बगाएको थियो । सुरक्षाकर्मीले जोखिम मोलेर जोडरमा यात्रु राखेर उद्धार गरेका थिए ।
सोही स्थानमा सडक विस्तारका क्रममा निर्माण भएको नयाँ पुल सञ्चालनमा आएपछि यात्रुलाई राहत भयो । अहिले सडक चार लेनको बनेको छ । पुल दुई लेनको मात्र छ । जसले गर्दा दुर्घटनाको जोखिम छ । चार लेनको सडकमा हुँइकेर आएका सवारी साधन एक्कासी दुई लेनको सडकमा रोकिँदा दर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।








