काठमाडौं, असोज ७ गते । अन्डमान सागरआसपास बनेको न्यून चापीय प्रणाली शक्तिशाली हुँदै गएकाले यही असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा ठुलो वर्षा गराउने सम्भावना थप उच्च बनेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै विभागले रेड अलर्ट जारी गरेको छ । विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठुलो वर्षा हुने सम्भावना छ ।
त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि ठुलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ । सम्भावित वर्षाका कारणले भूक्षय, बाढीपहिरो तथा गेग्य्रान बहाबको उच्च जोखिमसँगै सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औँल्याएको छ ।
देशका ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी क्षेत्रआसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ ।








