नवलपुरमा पनि बाढी पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन अपिल

नवलपुर, असोज ८ गते ।
जिल्ला प्रशासन कार्यालय र नवलपुरका स्थानीय पालिकाहरुले आजदेखि ११ गतेसम्म भारी वर्षा भइ बाढी पहिरोको जोखिम बढी भएकाले उच्चसतर्कता अपनाउन अपिल गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार ११ गतेसम्म गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने तथा त्यसबाट बाढी, डुबान, कटान, पहिरो र भू–क्षयलगायतका विपद् निम्तिन सक्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन र पालिकाहरुले विज्ञप्ती निकलोर जिल्लाभर मौसम बदलीसहित वर्षा सुरु भएको अवस्थालाई समेत ध्यानमा राख्दै नारायणी नदी किनार, केरुङ्गे खोला तथा अन्य नदी, खोला, खोल्सा, तटीय एवं बाढी–डुबानको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।

नदी, खोला तथा खोल्साको किनारमा अनावश्यक आवतजावत नगर्न, पानीको बहाव बढेको अवस्थामा माछा मार्ने, काठ–दाउरा संकलन गर्ने वा अन्य प्रयोजनका लागि नदी तथा खोलामा प्रवेश नगर्न पनि अनुरोध गरिएको छ ।

त्यसैगरी, तटीय तथा डुबानको जोखिममा रहेका परिवारलाई बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पशुचौपायाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ । रातिको समयमा नदी तथा खोलाको आसपास यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्र सुरक्षित मार्गको प्रयोग गर्न जिल्लावासीलाई अनुरोध गरिएको छ ।

स्थानीय स्तरमा बाढी, डुबान, कटान वा अन्य विपद्को संकेत देखिएमा तत्काल सम्बन्धित वडा कार्यालय, प्रहरी तथा नगरपालिकाको विपद् व्यवस्थापन संयन्त्रलाई जानकारी गराउन भनिएको छ । सम्भावित विपद्को अवस्थामा आवश्यक पर्ने महत्वपूर्ण कागजात, औषधि, खाद्यान्न, खानेपानी, मोबाइल तथा अन्य आवश्यक सामग्री तयारी अवस्थामा राख्नसमेत जिल्लावासीलाई अनुरोध गरिएको छ ।