भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको हो ।

आईओसीले प्रत्येक महिनाको १ र १६ तारिकमा नयाँ मूल्यसूची पठाउने गरेको छ। नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ ।

निगमकाअनुसार डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन तीन रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ ।