काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरेलगत्तै कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गरेका छन्। मंगलबार अनुगमनका क्रममा उनले अस्पतालको इमरजेन्सी, आईयीयू, पिआईसीयू, अंकोलोजी लगायतका वार्डहरुको अवलोकन गरेका थिए।
अस्पतालमा बेड नभएर अन्य ठाउँमा जानुपर्ने अवस्था देखिएको भन्दै आम मानिसले अनुभूति गर्ने गरी १५ दिनभित्र सेवामा सुधार गर्न उनले निर्देशन दिए। सो क्रममा उनले अस्पतालमा बिरामी कुरुवाहरुले प्रयोग गर्ने शौचालय फोहर भएको भन्दै त्यसलाई तत्काल सुधार गर्न निर्देशन दिए।
यस्तै बिरामी कुरुवाहरुका लागि बस्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए। ुआएका बिरामीले राम्रो उपचार पाउनुपर्छ मन्त्रीका हैसियतले मैले के गर्नुपर्छ म गर्छु,ु उनले भने, ुदेखिनेगरी अब सेवामा सुधार आउनुपर्छ।ु
राज्यको स्वास्थ्यमा लगानी थोरै भएको भन्दै उनले आगामी दिनमा त्यसतर्फ पनि ध्यान दिने बताए। पदभार सम्हाल्दै गिरीले दुई महत्वपूर्ण निर्णय गरेका छन्।
सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उनले पहिलो निर्णय गरेका छन्। यस्तै उनले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय पनि गरेका छन्।
दुवै निर्णय स्वीकृत गर्दै उनले गरिब, विपन्न नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने मुख्य चुनौती रहेकाले सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने बताए।









