कोरोनाका कारण रोकिएको काठमाडौं–बेइजिङ सिधा उडान माघ २८ देखि सुरु हुने

काठमाडौं । २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि सुरु भएको छ । कोरोना महामारीका कारण चीनले आफ्नो मुलुकमा लगाएको प्रतिवन्धका कारण सिधा उडान हुन सकेको थिएन।

चीनले यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको हो । अव हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ ।

हिमालय एयरलायन्समा नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानी छ । चीनको कुन्मिङ र ग्वाङझाउबाट काठमाडौं जोड्ने चिनियाँ वायुसेवाले राजधानी जोड्ने सिधा उडान भने हालसम्म गरेका छैनन् ।

कोरोना महामारीका कारण नेपाल उडान बन्द गरेका ६ वटा चिनियाँ वायुसेवामध्ये यसअघि मंसिर १३ देखि चइना साउर्दनले ग्वाङझाउबाट र पुस २४ देखि एयर चाइनाले छेन्दुबाट उडान सुरु गरेका थिए ।