सिडिओ सरुवा व्यवस्थित गर्न गृहले ल्यायो कार्यविधि, शक्ति र पहुँचका आधारमा हुने सरुवा रोकिने अपेक्षा

काठमाडौं । प्रमुख जिल्ला अधिकारी सिडिओ सरुवालाई व्यवस्थित गर्न गृह मन्त्रालयले पहिलोपटक कार्यविधि जारी गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ जारी गरेका हुन् ।

एउटै व्यक्ति लामो समय र धेरै जिल्लामा चक्कर लगाइरहने, योग्यता र अनुभव नपुगेका पनि पहुँचका आधारमा सिडिओ हुने तथा सरुवा हुने, कार्यसम्पादन मूल्यांकनको थिति नै नभएकोलगायत विषयलाई कार्यविधिले व्यवस्थित गर्न खोजेको छ ।

सिडिओ सरुवामा हालसम्म कुनै कानुनी आधार छैन । गृहमन्त्री नियुक्त भएपछि लामिछानेले सरुवालाई व्यवस्थित गर्न कार्यविधि ल्याएका हुन् ।

कार्यविधिले सिडिओको सरुवा, पदस्थापन र काजमा कानुनको ज्ञान, कार्य अनुभव, वरिष्ठता र कार्यसम्पादन मूल्यांकनलाई जोड दिएको छ । पहुँचका आधारमा एउटै व्यक्तिले लिइरहने अनवरत अवसरमा अंकुश लगाएको छ ।

सिडिओको पदस्थापन वा सरुवा गर्दा वा काजमा खटाउँदा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापनसम्बन्धी ज्ञान, स्थानीयस्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताका आधारमा सरल, पारदर्शी तथा अनुमानयोग्य बनाउन कार्यविधि ल्याइएको जनाइएको छ ।

कार्यविधिले सिडिओको पदस्थापना वा सरुवा हुन वा काजमा खटाउने सम्बन्धमा योग्यता निर्धारण गरेको छ । यसका लागि कानुनमा स्नातक गरेको वा तालिम लिएको र गृह मन्त्रालय वा अन्तर्गत एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।