एमालेका देवराज घिमिरे बने संसदको नवौं सभामुख

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे ।

सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ ।

२६८ जना सांसद मतदानमा सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए ।

सभामुखको पदका लागि एमालेका घिमिरे र कांग्रेस सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन । नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए ।

२०१५ सालको पहिलो संसद र २०४७ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि बनेका संसद्को इतिहास अनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् । यसअघि कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा सभामुख निर्वाचित भैसकेका छन् ।