काठमाडौं । नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ। उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।
हत्या आरोपमा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
महोत्तरी १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
दुई वर्ष पहिले २०७७ मंसिर १९ गते जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै जनकपुर उच्च अदालतले महतोलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो। उच्च अदालतको आदेशपछि तारेख लिन नपुगेका महतो हाल अदालतको फरार सूचीमा छन्।
फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी पत्रकारले गत बुधबार संसद भवनमा सोधेको प्रश्नमा गृहमन्त्री रवि लामिछानेले भनेका थिए, ‘मैले देखिनँ । पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’
उनले यसो भने पनि महतो अहिलेसम्म पक्राउ परेका छैनन् । बिहीबारको संसद बैठकमा कांग्रेस सांसदले पनि संसदमा महतोका बारेमा प्रश्न उठाएका थिए ।










