एजेन्सी । हाड, दाँत र मसल्स स्वस्थ राख्न भिटामिन डी चाहिन्छ । जब शरीरको कोषमा सूर्यको प्रकाश पर्छ तब कोलेस्टोरको मद्दतमा कोषले भिटामिन डी निर्माण गर्छ ।
तरपनि भिटामिन डीको परिपूर्ति चौतर्फी बेवास्ता गरिँदै आएको छ । यसैकारण विश्वको ठुलो जनसंख्या भिटामिन डीको कमीको शिकार भएको छ । सूर्य बाहेक भिटामिन डी खानेकुरामा पनि पाइन्छ, जस्तै माछा र दुधका परिकार ।
भिटामिन डीको कमी भएको कसरी थाहा पाउने ?
थकान, भिटामिन डी कमीको पहिलो लक्षण हो । खाना खाएपछि अनि सातआठ घण्टाको लामो निद्रा पछि पनि थकान महसुस हुन्छ भने भिटामिन डी कमी भएको हुन सक्छ ।
शरीरको अस्थीपञ्जरको सहज सञ्चालन गर्न भिटामिन डी चाहिन्छ । यसको कमी हुँदा शरीर ज्यादा थाक्छ ।
भिटामिन डीले शरीरमा क्याल्सियम खपत सन्तुलन गर्छ । हाड, मसल्स र दाँतको स्वास्थ्यको लागि क्याल्सियम आवश्यक हुन्छ । यदी ढाड, कम्मर लगातार दुखिरहन्छ भने भिटामिन डी कमीले हुन सक्छ ।
चोट पश्चातको घाउ ढिलो निको हुने पनि भिटामिन डीको कमीले हुन सक्छ । भिटामिन डीले जलन नियन्त्रण गर्न र इन्फेक्सन फैलिन नदिने गर्छ । भिटामिन डीको कमी भएको व्यक्तिमा घाउ निको पार्ने प्रक्रिया सुस्त हुन्छ ।
कपाल झर्ने धेरै कारणहरु मध्येको एक कारण हो भिटामिन डीको कमी । यसले कपालको जरा मजबुत राख्छ । यसको कमी हुँदा कपालको स्वास्थ्य गिर्छ र कपाल झर्छ ।









