सुर्खेत । कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात र वर्षा भएको छ । जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलङ्गामा समेत हिमपात भइरहेको हो ।

सोमबार राति तीन वजेदेखि हिउँ परेको हो । लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी चिसोबाट बढी प्रभावित भएका छन् ।
किसान भने हिमपातपछि उत्साहित भएका छन् । यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् ।हिउँदे बाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन् ।

हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ। हिमपातले यातायात सेवा पनि प्रभावित भएको छ । बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात सुरु भएपछि त्यहाँका किसानले लगाएको गहुँ, जहुँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई फाइदा गर्ने हुँदा किसान खुशी भएका छन् ।









