काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।
यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ । लामिछाने नेपाली नागरिक नै नभएको भन्दै सांसद हुन अयोग्य भएको जिकिर निवेदकहरूको छ ।
लामिछानेको नागरिकता तथा राहदानीसम्बन्धी विवादको मुद्दामा बसह गर्ने कानुन व्यवसायीका लागि संवैधानिक इजलासले १–१ घण्टाको समय छुट्याएको छ। रिट निवेदकका तर्फबाट ३ जना कानुन व्यवसायीले सुरुवाती बहस गरेका छन्। अधिवक्ताहरु रविराज बसौला र रमण कर्ण तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस सकेका छन्। रिट निवेदकका पक्षबाट थप २ जना कानुन व्यवसायीले बहस गर्न बाँकी छ।
निवेदक पक्षका कानुन व्यवसायीले बहस सकेपछि सरकारी वकिलले बहस गर्नेछन्। सरकारी वकिलले बहस सकेपछि विपक्षी (लामिछानेका) कानुन व्यवसायीले बहस गर्नेछन्।









