काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मंगलबार बानेश्वरस्थित संसदभवन अगाडी पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यप्रति विप्लवले श्रद्धान्जली व्यक्त गरेका हुन् । महासचिव विप्लवले बुधबार सामाजिक संजालका एक भिडियो सन्देश सार्वजनिक गर्दै यो घटनाले सिंगो देश स्तब्ध भएको बताउँएका छन् ।
उनले नेपालका सयौं खालका युवाहरुले यस्तो परिघटना भोग्नु परेको बताएका छन् । साथै उनले यस घटनाको पछाडी नेपाली अर्थतन्त्र जिम्मेवार रहेको समेत बताएका छन् ।
उनले आफ्नो पार्टीको तर्फबाट आचार्यको परिवारप्रति समवेदना व्यक्त गर्दै २५ हजार रुपैयाँ राहातस्वरुप प्रदान गर्ने घोषणा गरेका छन् । आचार्यको बुधबार बिहान किर्तीपूरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।









