प्रेमको परिवारका लागि अमेरिकामा एकै दिन संकलन भयो १३ लाख रुपैयाँ

काठमाडौं । संघीय संसद भवन नयाँ वानेश्वर अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारका लागि सहयोग रकम जुटिरहेको छ । अमेरिकामा रहेका नेपालीहरुबा एकै दिन १३ लाख रुपौयाँ संकलन भएको छ ।

हाल टेक्सस, अमेरिकाबाट सुरेश दर्पण पोखरेलले सञ्चालन गरेको ‘गो फन्ड मि’ अभियानमा एकै दिनमा १३ लाख रुपैयाँ (१० हजार अमेरिकी डलर) संकलन भएको हो । १० हजार डलरको लक्ष्यसहित शुरु गरिएको अभियानको लक्षित रकम एक दिनमै संकलन भएको पोखरेलले बताए ।

आचार्यको परिवारमाथी परिरहेको आर्थिक भारलाई केही हदसम्म भए पनि न्यून गर्न र बाबाको असामयिक निधनबाट मर्माहत बन्न पुगेका २ छोरीहरूको शिक्षा दीक्षाका लागि व्यक्तिगत पहलमा ‘गो फन्ड मि’ क्यम्पियन मार्फत आर्थिक सहयोग सङ्कलन गरिरहेको अभियन्ता पोखरेलले बताए ।

सङ्कलित सम्पूर्ण रकम नियमअनुसार ‘गो फन्डमि’ ले लिने २‍.९ प्रतिशत सर्भिस रकम घटाई प्राप्त हुने सम्पूर्ण रकम स्व आचार्यकी श्रीमती नानुका अधिकारी आचार्यलाई यथाशीघ्र हस्तान्तरण गरिने उनले बताए ।