आजभोलि धेरै मोटाइयो भनेर तौल नियन्त्रणका लागि डाइटिङ गर्नेहरूको संख्या बढिरहेको छ । तौललाई नियन्त्रण गर्न भन्दै अचेल कसैले दिन बिराएर खान्छन् । कसैले दिनमा १६ घन्टा केही नखाने गरेको पाइन्छ ।
त्यस्तै, केही मानिस हप्तामा पाँच दिन खाने र दुई दिन उपवास बस्ने गरेको पाइन्छ । गर्भवती, स्तनपान गराइरहेका महिलालाई अझ बढी क्यालोरी चाहिन्छ । जथाभावी डाइटिङ गर्दा शरीरलाई आवश्यक पर्ने क्यालोरी प्राप्त हुन सक्दैन र विभिन्न समस्या देखा पर्छन् ।
यस्ता समस्या देखिन सक्छन्
जथाभावी डाइटिङ गर्दा थकान महसुस हुने, निद्रा नलाग्ने, इरिटेसन हुने, कब्जियतको समस्या हुने, टाउको दुख्ने, काममा ध्यान नजाने, बेचैन हुने, कमजोरी हुने, वाकवाकी लाग्ने, बान्ता हुनेलगायत समस्या देखिन्छन् ।
यसले स्वास्थ्यमा दीर्घकालीन असर पनि गर्छ । जस्तो– कलेजोमा असर पुग्ने, डाइबिटिज हुने सम्भावना बढ्छ । त्यसैगरी, मनोवैज्ञानिक समस्या पनि हुन सक्छ । कसैलाई खान मन नलाग्ने, कुनै वेला धेरै खाने हुन सक्छ ।
कस्तो सावधानी अपनाउने ?
विशेषज्ञसँग परामर्श लिएर मात्र उपवास बस्नुपर्छ । कति खाने भन्नेमा ध्यान दिने गर्नुपर्छ । उपवास बस्ने व्यक्तिले नियमित रूपमा सुगर, प्रेसर, मुटु, कलेजोलगायतका स्वास्थ्य जाँच गर्नुपर्छ ।
१८ वर्ष नकटेका व्यक्तिले उपवास बस्नुहुँदैन । गर्भवती महिला, स्तनपान गराइरहेका महिलाले पनि उपवास बस्नुहुँदैन । उपवासका नाममा विभिन्न मोडालिटी आएका छन् । कतिपयले गुगल, युट्युबमा हेरेर पनि उपवास बस्ने गरेको पाइन्छ, जसले स्वास्थ्यमा उल्टै समस्या सिर्जना गर्न सक्छ ।









