भारतमा बायुसेनाका दुई विमान आकाशमै ठोक्किएर ध्वस्त

एजेन्सी । भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् ।

दुर्घटनामा परेका लडाकु विमानबाट दुई जना पाइलटले आफूलाई विमानबाट अलग गरेको तर तेस्रो पाइलटको जानकारी पाउन नसकेको आदर्श कटियारले बताए । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना हुनुअघि भारतीय वायुसेनाका दुईवटा लडाकु विमान ग्वालियर विमानस्थलबाट उडेका थिए।

मध्य प्रदेशका एडीजी आदर्श कटियारले समाचार एजेन्सी पीटीआईलाई विमान दुर्घटनाको कारण भने स्पष्ट भइनसकेको बताएका छन् । उनले भने, ‘विमान हावामा एकअर्कासँग ठोक्किएका हुन् वा होइनन् भन्ने स्पष्ट छैन ।’

तर स्थानीयका अनुसार हेलिकप्टरमा आकाशमै आगो लागेर खसेको थियो। विमान रेलवे स्टेसननजिकै दुर्घटना भएको हो। यद्यपि विमानमा कति जना पाइलट थिए वा कति जनधनको क्षति भयो भन्ने खुल्न सकेको छैन।

घटनाप्रति दुःख व्यक्त गर्दै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीटरमा लेखेका छन्, ‘मुरैनाको कैलारस नजिक वायुसेनाको सुखोई–३० र मिराज–२००० विमान दुर्घटनाको खबर अत्यन्तै दुःखद छ । मैले स्थानीय प्रशासनलाई छिटो उद्धार र राहत कार्यमा वायुसेनालाई सहयोग गर्न निर्देशन दिएको छु। विमानका पाइलटहरू सुरक्षित होस् भनी भगवानसँग प्रार्थना गर्दछु।’