सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिल सर्वोच्च जाने

काठमाडौं । सन्दीप लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कारको मुद्दा प्रक्रिया अगाडि बढाउन माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको हो । त्यसका लागि महान्यायाधीवक्ता कार्यालयले केही दिनमै निवेदन दर्ताको तयारी थालेको छ ।

महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता संजीवराज रेग्मीले लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको जानकारी दिए ।

लामिछानेलाई धरौटीमा छाड्ने आदेश कानुनविपरित भएको सरकारी वकिलको ठहर छ। उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो। उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।