टर्की र सिरियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो

काठमाडौं । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा गरी ५ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका छन् । उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ।

हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ। राष्ट्रपति रेजेप तयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, ‘हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ।’ उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए।