एजेन्सी । टर्की र सिरियामा सोमबार पटक पटक गएका शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या झण्डै दुई हजार पुगेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा सोमबार बिहान ७.८ म्याग्निच्युडको र त्यसपछि ७.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा झण्डै १२ सउ व्यक्तिको मृत्यु भएको र सिरियामा झण्डै ८ सय जनाको मृत्यु भएको बताएको छ । थप विवरण सार्वजनिक हुने क्रम जारी छ ।
भूकम्प १७।९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।
यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था न्युयोर्क टाइम्सले भूकम्पबाट हजारौं घाइते भएको जनाएको छ ।
सोमबार बिहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा ठूलो क्षति भएको हो । टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो ।
भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।
सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरहरूको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी शक्तिशाली भूकम्प गएको हो । एएफपी









