मानिसहरु चिया पिउन सौखिन हुन्छन्, झन् जाडो मौसममा त तातो चिया सबैलाई प्यारो लाग्छ । चिया नै नपिउने बानी भएकाहरुलाई गणना नगर्ने हो भने एउटा सामान्य मान्छेले पनि बिहान तथा दिउँसो गरी दिनमा कम्तिमा दुई कप चिया पिएकै हुन्छ ।
त्यसो त मानिसहरुलाई चिया पिउनका लागि कुनै निश्चित समयको आवश्यकता नै पर्दैन । जुनै बेला पनि उनीहरु चिया पिउन तयार हुन्छन् । कतिपय मानिसहरु त आफ्नो दिनको सुरुवात नै चियाबाट गर्न मन पराउँछन् र दिनभरीमा धेरै पटक चिया पिउँछन् । तर, यसरी हरेक समय चिया पिउनाले शरीरलाई नोक्सान पुग्छ ।
कहिलेकाहिँ हामी चिया बनाउन अल्छि गर्छौं र एकै पटक चिया बनाएर त्यसलाई पटक–पटक तताएर पिउँछौं ।
चिया बारम्बार तताएर पिउनाले हुने नोक्सानी
बारम्बार चिया तताएर पिउनाले चियाको स्वाद बिग्रन्छ भने चियाको वासना पनि उड्छ । जबकि, भरखरै पकाएको चियाका विशेषता नै स्वाद र वासना हो ।
चिया पुनः तताएर पिउनाले यसको पोषक तत्व पनि कम हुन्छ । लामो समयदेखि पाकेको चियालाई पुनः तताएर पिउनाले यसले स्वास्थ्यलाई नोक्सान पुर्याउँछ । चियामा माएक्रोबियल ग्रोथ हुन थाल्छ । यो माइल्ड ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुन्छ । प्रायः घरमा दुध चिया बन्छ, जसमा दुधको मात्रा बढी हुन्छ । यहि कारणले माइक्रोबियलको खतरा बढ्छ ।
त्यस्तै हर्बल चियालाई पनि बारम्बार तताउनाले त्यसको पोषक तत्व समाप्त हुन्छ । चियालाई बारम्बार तताएर पिउनाले पेटको समस्या देखिन्छ । यहि कारणले पेट बिग्रने, पेट दुख्ने र इन्फ्लामेशनको समस्या हुन्छ ।
बासी चियाको सेवनले आन्द्रामा एसिड बढी उत्पन्न हुन्छ, जसले छाति पोल्ने र दुख्ने समस्या हुन थाल्छ । बासी चियालाई पुनः तताएर पिउनाले पाचन प्रणालीमा असर पर्छ । चियामा समावेश एसिडिक गुण पेटमा गएर एसिडको मात्रा अझ बढाउन सक्छ, जसले अपच र कब्जियत जस्ता समस्या हुन सक्छ ।
बासी चियालाई तताएर पिउनाले ब्लड प्रेशर बढ्छ । उच्च रक्तचापका विरामीले बासी चिया सेवन गर्नबाट बच्नु पर्छ ।









