३ सय ६५ दिनमा जेलबाट छुटे पल शाह

काठमाडौं । अभिनेता पल शाह रिहा भएका छन् । बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो ।

आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्‍याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेर रिहा भएका हुन् । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो ।

तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् । प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।