नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष सन्तोषजनक रहेको बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकमा उनले सरकारले भ्रष्टाचार रोकेको बताए। त्यसैगरी कोभिड–१९ को व्यवस्थापन गर्न सफल भएको र सन्तुलित विदेश निति सञ्चालन गर्न सफल भएको उनको भनाई छ।
उनले भने, ‘एक वर्षको हाम्रो अनुभव सन्तोषजनक ढंगले सरकार चलेको छ। कतिपय उपलब्धीहरु यो सरकारले हासिल गरेको छ। कोभिडको व्यवस्थापन भएको छ। ठूलो भ्रष्टाचार एकपछि अर्को काण्डै काण्ड भएको अवस्था थियो त्यो रोकिएको छ। वैदेशिक नितिमा अन्यौल थियो। एमसीसी पारित भएको छ। र सन्तुलित नेपालको आवश्यकता र स्वार्थमा आधारित विदेश नीति सञ्चालन भएको छ। आफ्ना कुराहरु हामीले सु–स्पष्ट ढंगबाट सबै मित्रराष्ट्रका प्रतिनिधिहरुलाई हामीले राख्न थालेका छौँ। समग्रमा सन्तोषजनक छ। हामीले असन्तुष्ट हुनुपर्ने कारण छैन।’
त्यस्तै बैठकमा केन्द्रीय सदस्यहरुले गठबन्धनलाई आगामी संघ र प्रदेशको निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिएका छन्। बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्यहरुले नेपाली काँग्रेसले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेको बताएका छन्।
केन्द्रीय सदस्यहरुले गठबन्धनले समग्र परिणाममा राम्रो गरेकाले अगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखेका हुन्। नेताहरुले समानुपातिक निर्वाचन प्रणाली भएका कारण पनि गठबन्धन गर्नुको विकल्प नभएको धारणा राखेकाे प्रवक्ता डा.प्रकाशशरण महतले बताए।
त्यस्तै विगतको गठबन्धनबाट पाठ सिकेर साउन भित्रैमा गठबन्धनको विषयमा टुंगो लगाउनुपर्ने र भाद्र महिना भित्रैमा पार्टीको टिकटको टुंगो लगाइसक्नुपर्नेमा नेताहरुले जोड गरेको प्रवक्ता महतले जानकारी दिए।
उनले नेताहरुको पार्टीप्रतिको असन्तुष्टि र फरक मतहरु बाहिर नराख्न नेताहरुलाई आग्रह गरिएको बताए। उनले असन्तुष्टिहरु पार्टी बैठकमा राख्न आग्रह गरिएको जानकारी दिए। उनले पार्टी एकतावद्ध रहेको सन्देश दिनका लागि सबै विषय बैठक भन्दा बाहिर राख्नु नहुने बताए।
पार्टी केन्द्रीय समिति बैठकमा नेताहरुले महंगी नियन्त्रण गर्न र मलको सहज आपूर्तिकालागि सरकारले तदारुकता देखाउनुपर्ने माग गरेका थिए।








