अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

 अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ ।
ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन । यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ ।

ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् । उनले फैसलाविरुद्ध अपिल गर्ने प्रतिक्रिया दिएका छन् ।

पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको अभियोगमा ट्रम्पमाथि अर्को फौजदारी मुद्दा पनि छ । ७६ वर्षका ट्रम्पमाथि अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति चुनावको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायतका आरोप पनि ट्रम्पमाथि लागेका छन् ।

सम्बन्धित समाचार 

५० करोड डलर क्षतिपूर्ति माग्दै ट्रम्पले हाले आफ्ना पूर्व वकिलविरुद्ध मुद्दा

एक घण्टा हिरासत बसेर छुटे अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, ३४ वटा जघन्य अपराधका मुद्दा दर्ता