किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका भित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित बुङकोटका आठ किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

गाउँपालिकाले पालिकालाई मासु र दूधमा आत्मानिर्भर बनाउन जोड दिँदै आएकाले पशुपालक किसानलाई पशुपालनका लागि प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा दुहुनो भैँसी वितरण गरेको उनको भनाइ छ । कार्यक्रमअन्तर्गत १२ जना किसान छनोटमा परेको भए पनि चार जनालाई भने वितरण गर्न बाँकी छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत पशुपालन भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई दुहुनो भैँसी वितरण गरिएको उनले बताइन् । किसानलाई उत्पादनसँग जोडदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ दुहुनो भैँसी वितरण गरिएको उनको भनाइ छ । अनुदानमा दुहुनो भैँसी पाएपछि किसानसमेत खुसी भएका छन् ।