धान बालीका लागि यो वर्ष मल अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतको जस्तो मल अभाव हुने अवस्था नरहेको बताएका छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको भन्दै यो वर्ष धान बालीका लागि मल अभाव नहुने बताएका हुन् ।

‘गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको छ । यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन मल भित्रिने छ । विगतको जस्तो मल अभाव हुने अवस्था छैन,’ उनले भने । साथै उनले हाल ७१ हजार मेट्रिक टन मल मौजाद रहेको जानकारी पनि दिए ।