आज २०औं राष्ट्रिय धान दिवस, किसानलाई भने पानी नपरेर हैरान

काठमाडौं । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ आज देशभर २०औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाउने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा. हरिबहादुर केसीले जानकारी दिए ।

‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ ।

कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको महानिर्देशक केसीले बताए । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो । २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ ।

तर प्रयाप्त मात्रामा पानी नपर्दा धान रोपाई हुन सकेको छैन । मध्य असारमा पनि मुलुकभर १२.७१ मात्रै रोपाइँ भएको सरकारी तथ्यांक छ। अघिल्लो वर्ष यसै समयमा ३०.७१ प्रतिशत रोपाइँ भएको थियो। सो तुलनामा यसपटक त्यसको आधा पनि रोपाइँ हुन सकेन। यसपटक मनसुन ढिलाइ हुँदा धान रोपाइँ कम भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाइ  छ। सिँचाइको सुविधा नहुँदा धेरै स्थानमा आकाशे पानीकै भर पर्नु परेको पनि छ।

मन्त्रालयको तथ्यांकअनुसार प्रदेशअनुसार हालसम्म सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा रोपाइँ भएको छ। यी दुवै प्रदेशमा करिब २३–२३ प्रतिशत रोपाइँ भइसकेको छ। अझ गत वर्ष सोही अवधिमा कर्णालीमा ३८ प्रतिशत र सुदूरपश्चिममा ४३ प्रतिशत रोपाइँ भइसकेको थियो। अहिलेसम्म सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ।