पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पानी परिरहे दिनभरि नै सडकमा समस्या हुन सक्ने

चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । लगातार पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भएको छ । हिजो दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ । तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।

पानी परिरहे आज दिनभरि नै यो सडकमा समस्या हुन सक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले बताए । हिजो दिउँसोदेखि नै अवरुद्ध भएकाले यो सडकमा गाडीको लामो लाइन लागेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् । सयौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् ।

यस्तै, नारायणगढबाट काठमाण्डाै, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।