धान रोपाईं कम भएपछि यो वर्ष आयात बढ्ने अनुमान

काठमाडौं । यो वर्ष विगतकाे भन्दा कम क्षेत्रफलमा रोपाईं भएको छ । रोपाईं कम भएपछि धानकाे उत्पादन घट्ने र आयात बढ्ने देखिएको छ । विशेषगरी मधेस, बाग्मती र गण्डकीमा ढिला मनसुन शुरु हुँदा र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगका कारण रोपाइँमा कमी भएको कृषि मन्त्रालयले जनाएको छ ।

देशभर यसवर्ष झण्डै ९० प्रतिशत मात्र रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ९४ प्रतिशतसम्म रोपाइँ भएको थियो । देशभर १४ लाख ८८ हजार ४९ हेक्टरमा धान रोपाइँ हुन्छ । तर यसपालि झण्डै १३ लाख हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार यसवर्ष सबैभन्दा कम मधेसमा झण्डै ७० प्रतिशत रोपाइँ भएको छ । अझै केही दिन रोपाइँ हुने भएकाले यो तथ्याङ्क बढ्ने अनुमान छ । गएको वर्ष मधेसमा साउन सकिँदा झण्डै ९३ प्रतिशतसम्म रोपाइँ भएको थियो ।

मनसुनमा पानी नपर्दा आकाशे पानीको भरमा रहेका मधेस प्रदेशका धेरै किसानले धान नै रोप्न पाएनन् । तर केही दिनअघिको पानीले थोरै भए पनि राहत पुगेको किसानको भनाइ छ ।