भारतबाट प्याज आयात बन्द, स्टक प्याजमा अस्वभाविक मूल्य बृद्धि

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो । त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ ।

समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा प्याजभित्र प्याज आउन छाडेपछि प्याज दैनिक मूल्य सूचीबाट हटाएको जानकारी दिए । कालीमाटीका व्यापारीहरू कालीमाटी भित्रिँदै आएको प्याज निर्यातकर्ताले अन्य बजारबाट महँगोमा बिक्री गरेको बताउँदै आएका छन् ।

भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुल लगाएको थियो । उक्त महसुल २१ डिसेम्बर २०२३ सम्म लागु हुने भनिएको छ । भारत सरकारले आफ्ना नागरिकलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा अहिले प्याजको भाउ प्रतिकेजी २४ भारु (नेपाली ३८ रुपियाँ) खुद्रामा कारोबार भइरहेको छ ।

आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ६१ रुपियाँ थोकमा कारोबार भएको प्याजको भाउ सोमबार बढेर ९० रुपियाँसम्म पुगेको छ । यसको भाउ खुद्रामा ११० रुपियाँमा कारोबार भएको छ । जुुन स्वाभाविक मूल्य हो ।