कावासोती । नवलपुरको कावासोतीमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४४ विविध कार्यक्रम गरी मनाउने भएका छन् । नेवाः देय दबु कावासोती नगरसमितिको आयोजनामा कावासोतीमा रहेको नेवार समुदायको अगुवाहरुको वैठकले कात्तिक २८ गते परेको नयाँ बर्ष नेपाल सम्वत ११४४ र्यालीसहित शुभकामना आदानप्रदान कार्यक्रम गरेर मनाउने भएको छ ।
नेवाः देय दबु कावासोतीका अध्यक्ष अमृत श्रेष्ठका अनुसार त्रिभुवनटारबाट र्याली शुरु गरेर गोछडा, शेरगञ्ज, मगरकोट, फलफूल चोक, विष्णुनगर, भाटटोला, नमुना सदरमुकाम स्थल, डण्डाबाट पुन त्रिभुवनटारमा पुगेर सकिने छ । त्रिभुवनटारमा शुभकामना आदानप्रदान गरिने छ ।
नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी जातीय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतिका रूपमा विकास भएको म्ह पूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रूपमा मनाइन्छ ।
विशेषतः नेवार समुदायले मान्ने यो संवत् नेपालको मौलिक संवत् पनि हो । राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको संवत् नै नेपाल संवत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ ।
नेपाल संवत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ ।









