कावासोती । बिचौलियाका कारण आफूहरु मारमा परेको भन्दै नवलपुरका किसान आन्दोलित भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्बर १ का काक्रो किसानले आन्दोलन सुरु गरेका हुन् । उनीहरुले बिचौलियाले आफूहरुलाई भाउ नै नदिइ काक्रो लगेर कालिमाटीमा महंगो मूल्यमा बेच्ने गरेको आरोपसमेत लगाएका छन् ।
किसानले हरेक तीन–तीन दिनमा काक्रोको न्यूनतम समर्थन मूल्य तोकिनु पर्ने र न्यूनतम मूल्य नदिने ठेकेदारलाई काक्रो बिक्रि नगर्ने अडान लिएका छन् । पछिल्लो तीन दिनका लागि प्रतिकिलो २५ रुपैयाँ न्यूनतम समर्थन मूल्य कायम गरिनु पर्ने माग किसानको छ ।

तर ठेकेदार भने उक्त मूल्यमा सहमति नभएपछि केही दिनको समयसिमा दिइएको र ठेकेदारहरु त्यसमा सहमत नभए काक्रो नै नटिपी बरु बारीमै कुहिएर जान दिने निर्णय गरेको किसान वीरसिंह गाहा मगरले बताए ।
२४ कट्ठामा काक्रो खेती गरेका स्थानीय भरत राना मगरले स्थानीय ठेकेदारहरुले बारीबाट मूल्य नै नतोकि काक्रो उठाउने र लगिसकेपछि अर्को दिन निक्कै घटेको मूल्यमा भुक्तानी दिने गरेको बताए । ‘मूल्य निर्धारण नै नगरी ठेकेदारले बारीबाटै काक्रो उठाउँछन्, कालिमाटीमा लगेर बेचिसकेपछि नाफा कटाएर बल्ल हामीहरुलाई दिन्छन्, भरतले भने, ‘उनीहरुले हामीहरुलाई जति दिन्छन् त्यसले त हाम्रो खर्च पनि उठ्दैन् ।’

उनले खर्च कटाएर केही मुनाफा कमाउनका लागि प्रतिकिलो २५ देखि ३० रुपियाँ पाउनु पर्ने माग गरे । कात्तिक १२ गते प्रतिकिलो ४२ रुपैयाँमा बेचेको काक्रोको मूल्य दिनदिनै घटेर अहिले अहिले १० रुपैयाँमा झरेको किसानहरुको भनाइ छ ।
साडे चार लाख रुपैयाँ लगानी गरेर काक्रो खेती गरेका रानाले प्रतिकिलो १० रुपैयाँमा बेच्दा लगानी पनि नउठ्ने गुनासो गरे । हुप्सेकोट वडा नम्बर १ मा मात्र झण्डै एक हजार कृषकले ९० बिगाहा क्षेत्रफलमा काक्रो खेती गरेका छन् । जहाँबाट दैनिक ५० हजार किलो काक्रा निस्कने नवसृजना कृषि समूहका अध्यक्ष टेकबहादुर मगरले जानकारी दिए ।
किसानले निर्वाहमुखि खेती गरेकाले बजारलाई निर्धारण गर्न नसक्दा कृषकहरु विचौलियाको अन्योलमा परेको उनको भनाइ छ । अध्यक्ष मगरका अनुसार एक दिनमा ३६ वडा गाडीले यहाँबाट काक्रो उठाउने गरेक छन् ।

स्थानीय १५÷१६ जना ठेकेदारले विभिन्न किसानबाट काक्रो उठाएर काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा लैजाने गरेका छन् । अहिले काक्रो खेती गरेका किसानले माघसम्म काक्रो र त्यसपछि अन्य खेती गर्ने गर्छन् ।








