- एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चार दिन आक्रमण रोक्ने सहमति भएको छ । हमासले पहिलो चरणमा बन्धक बनाएका ५० जनालाई रिहा गर्ने र इजरायलले आक्रमण रोक्ने सहमति भएको हो ।
हमासले चार दिनभित्र बन्धक बनाइएका महिला तथा बालबालिकासहित ५० जनालाई रिहा गर्ने र इजरायलले आक्रमण रोक्ने सहमति भएको इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले सो सम्झौतालाई अनुमोदन गरेको बीबीसीले जनाएको छ । बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरु रिहा भए पनि गाजामा युद्ध निरन्तर रहने बताएका छन् । बन्धक रिहाले मात्र लक्ष्य पूरा नहुने भएकोले छोटो समयको युद्धविरामपछि युद्ध जारी रहने बताएको बीबीसीले जनाएको छ ।
सोमबारदेखि नै इजरायल सरकार र हमास युद्धविरामका लागि सहमति नजिक रहेका समाचारहरु सार्वजनिक भएका थिए । युद्धविराम र बन्दी रिहाइ सम्बन्धी प्रस्ताव इजरायलको मन्त्रिपरिषदबाट पारित भएपछि हमासको कब्जामा रहेका करिब दुई सय जनाको रिहाइ प्रक्रिया सुरु हुने बताइएको छ ।
यसैअन्तर्गत पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जना रिहा हुनेछन् । नेपाली युवक विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले जनाएको छ । तर उनको अवस्था थाहा हुन सकेको छैन ।
गएको अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा १२ सय जनाको ज्यान जानुको साथै २ सय ४० जनालाई हमासले बन्धक बनाएको थियो । त्यही दिन इजरायलले शुरु गरेको आक्रमणपछि गाजा पट्टीमा कम्तिमा १३ हजार मारिएका छन् ।








