बुलिङटार । नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रुपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ । विगतका वर्षहरुमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मख्ख परेका छन् ।
नवलपुर बुलिङटार वडा नम्बर ४ देउरालीका तिलबहादुर पुलामी विदेशको राम्रो कमाई छोडेर स्वदेश फर्कि अदुवा खेती गर्न थाले । विदेशको राम्रो कमाईलाई छोडेर गाउँ फर्केका पुलाीलाई अदुवा खेतीबाट भएको लाभले फेरी फर्केर विदेश जान मन लागेन ।
अहिले उनले ८ रोपनी पाखो बारीमा अदुवा खेती गरेका छन् । गत वर्ष यति नै क्षेत्रफलमा अदुवा लगाएर त्यसले भाउ नपाउँदा निरास भएका पुलामी अहिले भने मख्ख परेका छन् ।
गत वर्ष एक धार्नी अदुवाले बढीमा ५० रुपैयाँ मात्र भाउ पाएको थियो । तर अहिले गाउँमै काँचो अदुवा धार्नीको एक सय ८० रुपैयाँमा बिक्रि भइरहेको छ । घरपरिवारसँगै बसेर वार्षिक २ लाखभन्दा बढी आम्दानी गर्न सफल भएपछि उनलाई फेरी फर्केर विदेश जान मन लागेको छैन ।
स्थानीय अर्का युवा प्रेमबहादुर आलेले पनि आफ्नो सबै पाखो बारीमा अदुवा खेती गरेर रमाईरहेका छन् । पाखो बारी र जंगल फँडानी गरेर ६ रोपनी जग्गामा लगाएको अदुवाले वार्षिक डेढदेखि दुई लाखसम्म आम्दानी दिइरहेको उनको भनाइ छ ।
पुलामी र आलेजस्तै ८५ घर धुरी रहेको देउरालीका प्राय सबैले अदुवा खेतीलाई मुख्य पेशा बनाएका छन् । र, सबैजसोले नै एकदेखि तीन–चार लाखसम्म आम्दानी गर्न सफल भएको बुलिङटार वडा नम्बर ४ का अध्यक्ष मिनबहादुर आलेले बताए ।
अरु खेती जस्तो धेरै श्रम गर्न नपर्ने अनि अरु उत्पादन नहुने पाखो बारीमा मलविना पनि अदुवाले राम्रो उत्पादन दिने भएकाले किसान अदुवा खेती तर्फ आकर्षित भएको वडाध्यक्ष आलेले बताए ।
किसानले काँचो अदुवाले भाउ पाउँदा काँचै बेच्छन् भने त्यसको भाउ घटेको बेला अदुवालाई सुकाएर सुठो बनाएर बेच्ने गरेका वडाध्यक्ष आलेले बताए । सुठो धार्नीमा एक हजार रुपियाँसम्ममा बिक्रि हुने गरेको छ ।

सुठो अर्थात सुकाएको अदुवा मसलाको रुपमा प्रयोग हुने गर्छ । गाउँमै दुई वटा अदुवा संकलन केन्द्र रहेकाले किसानलाई भारी बोकेर शहरसम्म पुग्नु पर्ने झन्झट पनि छैन ।

नवलपुरको पहाडी क्षेत्र अदुवा खेतीका लागि परिचित छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार गतवर्ष यहाँको ९ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । जसबाट नौ हजार आठ सय मेट्रिक टन अदुवा उत्पादन भएको ज्ञान केन्द्रका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिए । गतवर्ष जिल्लाभरीबाट ३० करोडको अदुवा जिल्ला बाहिर निर्यात भएको कृषि अर्थविज्ञ ढकालले जानकारी दिए ।








