बुलिङटार । नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ४ देउरालीका ३४ वर्षिय लक्ष्य आलेले मलेसियामा ४ वर्ष र कतार ३ वर्ष ९ महिना गरी ७ वर्ष ९ महिना विदेशी भूमिमा पसिना बगाए । विदेशको कमाई पनि राम्रै थियो । तर चार्डवार्डको बेला, विशेष गरी तिहारको भाई टिकामा इष्टमित्र, आफन्त र परिवारले टिका र मालामा सजिएर सामाजिक सञ्जालमा फोटो पोष्टिँदा अनि गाउँघरको रंगरमाइलोमा दिन बिताउँदा लक्ष्य आलेको मन कुँडियो ।
गाउँघरमा सबैले तिहारमा रमाइलो गर्दै गर्दा उहाँ बिहानै उठेर ड्युटी जानु पर्ने बाध्यता थियो । विदेशी साहुले नेपाली संस्कार र संस्कृति नबुझेकाले चार्डवार्डमा बिदा माग्दा पनि नदिए पछि उनको मन एक तमासले बरालियो । र निर्णय गरे, विदेश नगई स्वदेशमै केही गर्ने । तीन वर्षअघि स्वदेश फर्केका लक्ष्यको लक्ष्य बदलियो अनि सुरु भयो गाउँमै बाख्रा पालन, अदुवा र अम्रिसो खेती ।
लक्ष्यको जस्तै कथा छ सोही ठाउँका ३५ वर्षिय दल बहादुर आलेको पनि । पाँच वर्ष संयुक्त अरब ईमिरेटस (युएई) बसेर बिदामा आएका दलबहादुर बिदा सकिए पछि पनि विदेश फर्किएनन् । युएईको राम्रो कमाई छोडेर गाउँकै माटोमा काम गरेर परिवार चलाउन कस्सिएका दलबहादुरलाई बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले विदेश बिर्साईदियो ।

दैनिक बिहान सबेरै उठेर घरबाट लगभग ३५ मिनेटको पैदल दुरीको हुर्यान डाँडामा रहेको उनीहरुको आफ्नै बाख्रा फर्ममा पुग्ने लक्ष्य र दलबहादुर आलेको दैनिकी यति बेला कृषि कर्मले भरिएको छ । युएईमा वार्षिक ३ लाखभन्दा बढि नेपाली रुपैयाँ कमाउने दल बहादुरले गाउँ फर्किएसँगै बाख्रा मात्रै पालेनन्, आफ्नै ७ रोपनी जमिनमा अदुवा लगाए, पाखामा अम्रिसो रोपे अनि केही बोट सुन्तला हुर्काए ।
बिस्तारै बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले आम्दानी दिन सुरु गरेपछि लक्ष्य र दल बहादुरले विदेशनै बिर्सिए । उनीहरुले विदेश मात्रै बिर्सिएनन, परिवारसँगै साँझ बिहान घरको खाना खाएर गरेको कृषि कर्मबाट आएको आम्दानीले मिठो आत्मसन्तुष्टि मिलेको छ अनि नाम र दाम मिलेको छ ।
‘विदेशमा लाखौं रुपैयाँ कमाए पनि स्वदेशमा आफ्नै परिवारसँगको बसाई मिठो हुने रहेछ, लक्ष्यले भने, ‘विदेशको लाखलाई स्वदेशको हजारले जित्दो रहेछ, जव आत्मसन्तुष्टि मिल्छ । त्यही आत्मसन्तुष्टि र आत्मसम्मानका लागि फेरी फर्केर विदेश जान मन लागेन ।’
अहिले उनको फर्ममा ७० भन्दा धेरै बाख्रा पुगेका छन । परिवारसँगै बसेर बाख्रा पालन, अदुवा खेती र अम्रिसोबाट भएको आम्दानीले उनको मन खुसी भएको छ । ‘७ वर्ष ९ महिना विदेशमा धेरै हण्डर खाएँ, वर्षको २ लाख कमाउन पनि मुस्क्लि थियो । अहिले परिवारसँगै बसेर वर्षमा ३ देखि ३ लाख ५० हजारसम्म आम्दानी भएको छ, उनले भने ।

देउराली बाख्रा फर्म दर्ता गरेर काम सुरु गरेका दल बहादुरले सुरु गरेको व्यवसायीक बाख्रा पालनबाट खोरमा ७५ वटा बाख्रा भएका छन । बाख्राबाट वार्षिक १ लाख ५० हजार आम्दानी हुदैँ आएको र फर्मलाई अझै बिस्तार गर्ने सोच रहेको उनले सुनाए । त्यस्तै अदुवा र अम्रिसोबाट वार्षिक एक लाखदेखि एक लाख ५० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनको भनाइ छ । बाख्रा फर्ममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्राविधिक सहयोग पाउने गरेको उनीहरुले बताए ।
यातायातको सुविधा भएक कारण बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाका लागि व्यापारीहरु गाउँमै पुग्ने गरेको बुलिङटार ४ का वडाध्यक्ष मिन बहादुर आलेले बताए । देउरालीका प्राय सबै घरबाट १ जना वैदेशिक रोजगारमा गएको भए पनि लक्ष्य र दलबहादुरको कृषि कर्म अरु युवाका लागि उदाहरणीय बनेको वडा अध्यक्ष आलेको भनाइ छ ।








