कावासोती । माघीको उपलक्ष्यमा नवलपुरमा पाँच दिने खिचरी उत्सव तथा फुड फेष्टिवल हुने भएको छ । प्रकृति, संस्कृति र पर्यटन एकैसाथ भन्ने नाराका साथ सुरु हुन लागेको उत्सव आगामी पुष २७ देखि माघ दुई गतेसम्म कावासोती–१० को चिलाहा, रतवलमा सञ्चालन हुने आयोजक नवलपुर पर्यटन समितिले जनाएको छ ।
समितिले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उत्सवमा विशेष प्याकेजको रुपमा डुंगा सयर, जंगल सफारी र टाइगर ट्रेल पैदल यात्रा राखिएको छ । जसको माध्यमबाट नेपालको नारायणी नदीमा मात्र पाइने डलफिन अवलोकन तथा संरक्षण, एक सिंगे गैडा, पाटे बाघ, घडियाल, गोही लगायत विश्वका दुर्घभ जन्तुको अवलोकन, यस क्षेत्रका ६०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पाइने समितिका अध्यक्ष फन्सराम महतोले जानकारी दिए ।
जसको माध्यमबाट स्थानीय पाठ्यक्रम निर्माण गर्न सहयोग पुग्ने एवं जलचर तथा बन, वन्यजन्तु र स्थानीय कला, संस्कृतिको विकास गर्दै स्थानीय खानाका परिकारको बजारीकरण गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने अपेक्षा गरिएको समितिका संरक्षक एवं स्थानीय पर्यटन व्यवसायी धनिराम गुरौले बताए ।
टाइगर ट्रेल उत्सवको आकर्षण
उत्सवमा टाइगर ट्रेल पदयात्रा आकर्षणको केन्द्र बन्ने भएको छ । हाल कावासोतीको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा टाइगर ट्रेल संचालन गरिएको छ । ‘अन्त कतै नभएको टाइगर ट्रेल हामीले यहाँ संचालनमा ल्याएका छौ । त्यसर्थ यो पर्यटकको आकर्षणको केन्द्र बन्छ भन्ने अपेक्षा गरेका छौं, गुरौले भने ।
गुरौका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पाइने पाटेबाघ हिड्ने बाटो, उसको खुट्टाका डोबहरू, नङग्रा, बासस्थान र बिचरण क्षेत्रलाई टाइगर ट्रेल बनाई २ किलोमिटर क्षेत्र सो करिडोरको रूपमा पहिचान र प्रयोग गरिएको छ । अन्यत्र यस्तो व्यवस्था नभएको हुँदा यो टाइगर ट्रेल अत्यधिक आकर्षणको केन्द्र बन्ने उनको विस्वास छ ।
हरेक दिन दिउँसो ३ देखि बेलुकी ८ बजेसम्म संचालन हुने खिचरी उत्सव अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । उत्सवबाट १५ लाख रुपैयाँ संकलन हुने र ११ लाख ५० हजार रुपियाँ खर्च हुने आयोजकको अनुमान छ । बचेको रकमलाई बन, वन्यजन्तु संरक्षण, पर्यटन प्रवद्र्धन र जिविकोपार्जनमा खर्च गरिने समितिको संरक्षक गुरौले बताए ।









