सरकारसँग पाँच बुँदे सहमतिपछि किसानका आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति भएको छ । हिजो बेलुका भएको वार्तामा पाँच बुँदे सहमति भएको हो ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आउँदो चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाइ मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी स‌ंघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो ।

झण्डै ६ अर्ब रुपैयाँ दूधको भुक्तानी रोकिएको भन्दै किसान तथा सङ्घ सङ्गठनले गएको फागुन १० गते चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोध प्रदर्शन गर्दै आएका थिए । अध्यक्ष कुँवरका अनुसार सरकारको सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन् ।

वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो ।