लैला : सुस्ता बचाउ अभियानकी खम्बा, जसले भारतीय श्रीमानलाई सुस्ता ल्याएर भारतविरुद्धै लड्न सिकाइन्

बोमलाल गिरी । नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा नम्बर ५ की नुर्जा बेगमको आजभन्द झण्डै ३०/३५ वर्षअघि भारतमा बिवाह भयो । भारत कुशिनगर जिल्ला रमकोलाका बद्री आलमसँग बिवाह गरेकी नुर्जा ४ दिन मात्र आफ्नो घरमा बसिन् । त्यसपछि उनले आफ्नो श्रीमानलाई निक्कै प्रयास गरेर फकाइन् ।

भारतले रातदिन नेपालको सुस्तामा अतिक्रमण गरिरहेकाले नेपाली भूमि जोगाउन आफ्नो आवश्यकता रहेको नुर्जालाई महसुस भयो । त्यसका लागि आफूसँगै सुस्ता फर्केर आफूलाई साथ दिन उनले पटक पटक श्रीमानलाई आग्रह गरिन् । सुरुमा नुर्जाको प्रस्ताव बद्रीलाई मन परेको थिएन । ‘तपाई नफर्कने हो भने म एक्लै नेपाल फर्कन्छु, मलाई तपाईभन्दा सुस्ताको माटो माटो प्यारो छ । र अहिले सुस्तामा मेरो आवश्यकता पनि छ, यति भनेर नुर्जाले अड्डि कसेपछि बद्री पनि नवबिवाहित दुलहीसँगैै सुस्ता फर्कन तयार भए ।

नेपाल फर्केपछि नुर्जाले आफ्नो नाम ‘लैला’ राखिन् । ‘किन नाम परिवर्तन गर्नुभयो ? यसको अर्थ के हुन्छ ?’ भन्ने प्रश्नमा उजले भनिन्, माटोसँगको प्रेम । मलाई यो माटोसँग प्रेम छ ।’ अहिले सुस्तामा उनलाई सबैले ‘लैला फूपु’ भनेर बोलाउँछन् ।

भारतको बुहारी लैलाले नेपाल फर्केर भारतीय श्रीमानकै सहयोगमा सुस्ता बचाउनका लागि भारतसँगै धेरै लड्नु पर्यो । ‘हामीले मेरै नेतृत्वमा एउटा महिलाहरुको टोली बनायौं र भारतसँग पटक पटक बहुत लडाई ग¥यौं, भारतीय सुरक्षाकर्मीसँग लडेका ती दिन सम्झदै लैलाले भनिन्, ‘म सबै महिलालाई लिएर नेपालको सीमामा गएँ, हाम्रो फौज देखेर भारतीय प्रहरी पछि हटेका थिए । अहिले पनि हामी सुस्ताकै लागि लडिरहेका छौं ।’

लैलासहितको त्यो लडाईमा सुस्ता बचाउन ठूलो योगदान छ नेपाल प्रहरीका पूर्व हवल्दार गोपाल गुरुङको । गुरुङले सुस्तामा भारतीय अतिक्रमण रोक्न सुविधा सम्पन्न ठाउँमा बसोवास गर्न श्रीमती र छोराछोरीको आग्रह र दबाब झेलेर सुस्तामै स्थानीयले दिएको एक कठ्ठा जमिनमा सानो झुपडी बनाएर बसेका थिए ।

भारतले पटक पटक सीमा मिच्दै सुस्ता हडप्ने नियतका अवरोधक मात्र होइन नेपाली सीमा रक्षाका पर्खाल थिए गोपाल गुरुङ । तनहुँका स्थानीय गुरुङ सरकारी पोशाक र हतियारमा त्यतिबेला भारतीय हेपाइको प्रतिरोध गर्न नसकिने ठम्म्याइका साथ सरकारी जागिर छोडेर सुस्ता पुगी नेपाली भूमिका लागि २५ वर्ष लडेका थिए ।

सुस्ता बचाउन लड्दा लड्दै उनको गतवर्ष माघ १० गते निधन भयो । गुरुङको निधनपछि सुस्ता बचाउने अभिभारा लैलाकै काधमा आएको छ । गोपाल गुरुङको अभाव कत्तिको महसुस भएको छ ? भन्ने प्रश्नमा लैला भन्छिन्, ‘एकदमै अभाव भएको छ, उहाँ हुँदा भारतीय प्रहरीसँग लड्न खुबै आँट आउथ्यो, यहाँका सबैले गोपाल दाजूले भनेको कुरा मान्थे, जुरुक्क उठेर सीमामा पुगिहाल्थे ।

अहिले पनि भारतले नेपालको भूमि विस्तारै विस्तारै अतिक्रमण गरिरहेको छ । भारतीय नागरिक लैलाका श्रीमान बद्री आलमलाई पनि भारतले नेपाली भूमि मिचिरहेको महसुस भइरहेको छ । ‘भारतले नेपाली मूमि मिचेको यी आँखाले टृुलुटुलु हेरिरहेका छन्, भूमि रक्षाका लागि नेपालले भारतसँग लडाई गरिरहेको छ, जुन एकदमै जायज छ, त्यसमा मैले पनि साथ दिन पाउँदा गर्वको महसुस भइरहेको छ, ‘जिन मातृभूमिको खाते है, उस मातृ भूमिके लिए ज्यान दिनेका लिए भि तयार हे’, हिन्दी भाषा मिसाउँदै आलमले भन्नुभयो ।

वर्षैदेखि नेपाली भूमिका लागि लड्दै आइरहेका आलम र लैलासँग नेपाली नागरिकता भने छैन । घर छ, जग्गा छ तर लालपूर्जा छैन । त्यसैले आलमलाई भारतीयहरु सोध्छन्, नेपालमा बसेर नेपाली नागरिकता र लालपूर्जा नै नभएको व्यक्ति भारतसँग किन लडिरहेको ?

लैला र गोपाल गुरुङसहितको टोली सुस्ता बचाउनका लागि सदरमुकाम परासी गयो, बुटबल गयो तर समस्या समाधान हुने देखिएन । त्यसैले उनीहरुकै नेतृत्वमा एउटा टोली काठमाडौं गयो । काठमाडौंको पहिलो बसाइ २० दिन भयो । त्यसपछि पनि पटक पटक काठमाडौको सिंहदरवार र बालुवाटार धाउनु पर्यो । जति सरकार परिवर्तन भए, त्यति नै प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर सुस्ता बचाउनका लागि पहल गर्न आग्रह गर्यो ।

अझै पनि समस्या समाधान भएन । उनीहरुको टिमले तत्कालिन राजा ज्ञानेन्द्रलाई भेटेर सीमा सुरक्षाकर्मी पठाईदिन, नेपाल र भारतको सीमा निर्धारण गर्न र सुस्तावासीलाई जग्गाको लालपुर्जा दिलाइ राजश्व संकलन गर्न बिन्ति पत्र चढायो । अरु नभए पनि राजाको निर्देशन पछि २०६२ साल कात्तिक ४ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी सुस्ता स्थापना भयो । पछि इलाका प्रहरी कार्यालय पनि स्थापना भयो ।

अहिले पनि सुस्तामा समस्या नै छ । सीमा मिचिएकै छ । स्थानीयले नागरिकता र लालपूर्जा पाएका छैनन् । यसमा लैला सबैभन्दा ठूलो कमजोरी सरकारमा बस्नेहरुको देिख्छन् । ‘सबैभन्दा ठूलो कमजोरी हाम्रै सरकारको हो । को नेपाली हो को होइन ? एउटा टोली खटाएर नेपालीलाई नागरिकता दिनु पर्ने हो, लैला भन्छिन्, ‘थुप्रै नेपाली जुन हाम्रै साथमा सीमाका लागि लडिरहेको छ, उनीहरुले पनि नागरिकता पाएको छैनन् ।’ लैला आफैसँग पनि नेपाली नागरिकता नभएकाले सम्मानार्थ नागरिकता दिन उनको आग्रह छ । तर उनका छोराछोरीले भने जन्मका आधारमा नेपाली नागरिकता पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमका अनुसार झण्डै पाँच सात सय जतिले नागरिकता पाउन सकेका छैनन् । कतिपय स्थायी रुपमा नेपालमै बसेकाहरुले सम्मानार्थ नागरिकता पनि मागेको भन्दै नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले यो केन्द्र सरकारको अधिकारको विषय भएको बताउँछन् ।

२०३९ सालदेखि निरन्तर त्यही क्षेत्रको जनप्रतिनिधि रहेका हाल सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय नेपालमै जन्म दर्ता भएका वा बाबुको नागरिकता भएकाहरुले नागरिकता पाएको बताउँछन् । २०६२ अघि सुस्तामा पटक पटक भारतीय सुरक्षाकर्मीसँग स्थानीयको झडप हुने गरेको भए पनि हाल सरकारको उपस्थिती भएपछि सुस्ता पनि शान्त हुँदै गएको उपाध्यायको भनाइ छ । -गोरखा पत्रबाट साभार