दिपायलबाट नवलपुर झरेर लौकामा लम्किँदै नवराज

बोमलाल गिरी, नवलपुर, कात्तिक २० गते । लौका धेरैलाई मन नपर्ने तरकारीमा पर्दछ । यसको बजार मूल्य पनि त्यति धेरै पर्दैन । तर उमेरले भर्खरै तीन दशकको आसपासका नवराज पनेरुको दैनिकी बिहानदेखि साँझसम्म लौका बारीमै बित्छ ।

सँगैका साथीभाइहरु सरकारी जागिरे, वैदेशिक रोजगारी र अन्य पेशा अपनाएर भविष्य बनाउन लागे पनि उनी भने सुदुरपश्चिमको दिपायलदेखि नवलपुर आएर लौका खेतीमा रमाइरहेका छन् । दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयबाट जेटिए पास गरेका उनी विगत ४ वर्षदेखि नवलपुरको मध्यविन्दु–३ लेडाहामा आएर लौकासँगै अन्य तरकारी खेती गरिरहेका छन् ।

अध्ययन सकेपछि चितवन गएर एक वर्ष कृषि फर्ममा काम गरेका पनेरु त्यसको एक वर्षपछि नवलपुरको मध्यबिन्दुमा युवा आधुनिक कृषि फर्म स्थापना गरेर व्यवसायिक तरकारी खेतीमा लागे । मध्यविन्दु–३ मा आएर सुरुमा १ बिगाहा जमिन भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु गरेका उनले अहिले साढे चार बिगाहा अर्थात ९० कट्ठा जमिन भाडामा लिएर विभिन्न प्रजातिका तरकारी उत्पादन गर्ने काम गरिरहेका छन् ।

यति बेला लौका र काक्राले उनको फर्मका बारीहरू भरिएका छन् । हरेक ३/४ दिनमा उनलाई तरकारी टिपेर बजार पठाउन भ्याई नभ्याइ हुने गरेको छ । सुरु सुरुमा सानो परिणाममा तरकारी उत्पादन गर्दा स्थानीय बजारमा बेच्ने गरेका पनेरुले अहिले भने यहाँ उत्पादित तरकारी काठमाडौको कालिमाटी, नारायणघाट, बुटवल जस्ता ठूला शहरमा पठाउने गरेको बताउँ५न् । उनले लौकासँगै काक्रा, खुर्सानी, फर्सी, टमाटर, भेण्टा लगाएतका तरकारी उत्पादन गरेर बजारमा पठाउने गरेका छन् ।

चितवनकै कृषि फर्ममा काम गर्ने क्रममा एक जना साथीले दिएको सल्लाहअनुसार नवलपुर आएर विगत चार वर्षदेखि तरकारी खेतीमा जमेका पनेरुले १० लाखको लगानी गर्दा २५ लाखसम्म आम्दानी गरेको बताउँछन् । उनले तरकारीको आम्दानीबाट आफ्नो परिवार मात्रै पालेका छैनन्, फर्ममा दुई जना दैनिक काम गर्ने कृषि मजदुर र हरेक ३/४ दिनमा तरकारी टिप्ने कामका लागि स्थानीय १०/१२ जना महिलालाई समेत रोजगारीको अवसर सृजना गरिदिएको बताए ।

आफै कृषि प्राविधिक जेटिए भएका कारणले पनि उनलाई तरकारी खेति गर्न सहज भएको छ । ‘जोत्ने, रोप्ने, सिचाइ गर्ने, मलखाद तथा विषादीको प्रयोग र माटो उर्वरा शक्तिको विषयमा नजिकबाट आफू जानकार रहेकोले पनि यो पेशामा सहज भएको छ, पनेरुले भने ।

पछिल्लो समयमा बजारमा आउने तरकारीमा विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा पर्ने असरको विषयमा सचेत रहेको र विषादीको प्रयोग गर्दा किसान र उपभोक्ताको स्वास्थ्यलाई असर नपार्ने गरी गरिने पनेरुले बताए । विषादीको ज्ञान नभएका कारणले सर्वसाधारण किसानले सोझै भेटेरीनरी बाट विषादी किनेर प्रयोग गर्दा प्रयोगकर्ता किसान र उपभोक्ताको स्वास्थ्यमा समस्या आउने गरेको उनी बताउँछन् ।

आफुले अध्ययन गरेको क्षेत्र भएका कारणले पनि विषादीको प्रयोगमा पुर्ण सचेत रहेको भन्दै पनेरुले आफुले उत्पादन गरेको तरकारी उपभोक्ताको भान्सासम्म पुग्दा विषादीको असर नहुने दाबी गरे ।

व्यवसायिक रुपमा तरकारी खेती गर्न सक्ने हो भने नेपालमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका नवराजले अहिलेसम्म सरकारी निकायबाट अनुदान सहयोग भने नलिएको बताउँछन् । ‘आगामी दिनमा सरकारी निकायको अनुदान लिएर तरकारी खेतीलाई थप बिस्तार गर्ने योजनामा छु, उनले भने ।

अनुदान मात्रै नभएर सरकारले तरकारीको बजार बिस्तारमा ध्यान दिन सके नेपालमै बसेर पनि राम्रै आम्दानी गर्न सकिने उनको भनाइ छ । तर भारतीय तरकारीकै कारण अहिले पनि नेपाली किसान समस्यामा पर्ने गरेको पनेरुले सुनाए ।

१५० प्रति किलोसम्म बेच्दै आएको लौकाको भाउ अहिले भारतीय लौका भित्रिएपछि घटेर १३०/१३५ प्रतिकिलोमा बेच्नु परेको गुनासो गरे । अत्याधिक विषादी प्रयोग गरेर उत्पादन गरिएका भारतीय तरकारीको अगाडि नेपाली किसानले फलाएको तरकारीलाई बजारमा टिकाउन गाह्रो हुने गरेको उनको अनुभव छ ।