सुस्तामा प्रहरीलाई नै सास्ती

बोमलाल गिरी
नवलपुर, जेठ ८ गते । वर्खाको समय नजिकिदै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिदै गएको छ । गत वर्ष नारायणी नदी बस्तीमा पसेर डुवान गरेपछि यो वर्ष पनि फेरी त्यही नियती भोग्नु पर्ने हो कि भन्नेमा उनीहरलाई आकाशमा कालो बादल मडारिँदा पनि डर पैदा हुन्छ ।

सुस्तामा रहेको शसस्त्र प्रहरी बल नेपाल बिओपीले आफ्नै उद्धारका लागि डुङ्गलाई तयारी अवस्थामा राखेको छ । नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुवानको जोखिम अत्याधिक हुने गरेको छ ।

शसस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुंगाकै सहारा लिनु पर्ने अवस्था रहेको कार्यालय प्रमुख, प्रहरी नीरिक्षक बसन्त पण्डितले बताए । ‘‘ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुङ्गाको सहारा लिनुपर्छ, पण्डितले भने, ‘‘चार पाँच फिटसम्मको डुवान हुने भएकाले डुङ्गाविना खाना खान जान पनि सम्भव हुन्न ।’’

आठ फिट अग्ला पिलर राखेर भवन निर्माण गरिएको छ । तिनै भवनमुनी डुङ्गा राखिएको छ । डुवान हुँदा यही डुङ्गा आवतजावतको सहारा बन्ने गरेको प्रहरी नीरिक्षक पण्डितले बताए । प्रहरीलाई आफ्नै उद्दारमा सहज होस् भनेर गाउँपालिकाले गतवर्ष एउटा डुङ्गा उपलब्ध गराएको उनको भनाइ छ ।

एसएसबीको हेपाई
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सकेसम्म नेपालले सुस्तामा राखेको शसस्त्र प्रहरीको सीमा सुरक्षा बल हटाउन चाहेको शसस्त्र प्रहरी नीरिक्षक पण्डितले बताए । ‘‘उनीहरुले हामीलाई अझै पनि हेपेरै बोलिरहेका हुन्छन्, हामी नभए आफै राजकाज चलाउन पाइन्थ्यो भन्ने सोच उनीहरुमा रहेको देखिन्छ,’’ पण्डितले भने, ‘‘सुस्तामा बिवाहवारी हुँदा पनि यहाँबाट कुनै सामान ल्यान नदिने र भारतबाटै ल्याउन समेत दबाब दिने गर्छन् ।’’

तर पनि नेपाल र भारतका सुरक्षाकर्मीबीच हप्तामा एक दिन संयुक्त बैठक तथा तीन दिन सीमामा एकल गस्ती र तीन दिन संयुक्त गस्ती हुने गरेको उनले बताउनुभयो । उनले हाल यहाँ २१ जना मात्र जनशक्ति रहेको र त्यो निक्कै थोरै भएकाले दरवन्दी बढाउन पनि सरकारसाग आग्रह गरे ।

राजश्व गुम्दै
सुस्तामा झण्डै तीन सय ५० घरधुरीमा ३ हजार २ सयभन्दा बढी नेपाली बसोबास गर्छन् । हरेक घरमा सवारी साधन (अधिकांशमा मोटरसाइकल र केहीमा गाडी) नभएको घर छैन । तर ती सवारी साधनले तिर्ने राजश्व नेपालमा जम्मा हुँदैन । किनकी यी सवारी साधन भारतीय नम्बर प्लेटका हुन् ।

यहाँका स्थानीयको कारोवार भारतको बिहार र उत्तर प्रदेशसँग हुन्छ । बिहेबारी नेपालभन्दा भारतमै बढी हुन्छ । बिहार र उत्तर प्रदेशमा नेपाली सवारी साधनमा प्रतिवन्ध जस्तै छन् । उत्तर प्रदेशबाट बीआर लेखिएको मोटरसाइकलमा सामान लिएर आउँदै गर्दा सुस्ता पुलमा भेटिनु भएका रामरिजन अहिरले भने, ‘‘भारतले नेपाली मोटरसाइकल आफ्नो देशमा छिनै दिँदैन, नेपालमा भन्दा भारतमा पेट्रोल सस्तो छ तर हाल्न दिँदैन,’’ अहिरले भने, ‘‘कारोवार धेरैजसो भारतसँगै हुन्छ, त्यसैले भारतीय मोटरसाइकल प्रयोग गर्नुको विकल्प नै छैन ।’’

बिहारमा सामान महंगो भएकाले त्यहाँका नागरिक पनि सुस्ता हुँदै उत्तरप्रदेशबाट सामान लिएर जाँदा पनि नेपालले भन्सार कर असुल्न नसकेको बताउँछन् सुस्ता चौकीका इन्चार्ज, प्रहरी हवलदार धन बहादुर चौधरी । ‘‘न सवारी साधन कर उठाउन सकिएको छ, न त भन्सार कर नै, हामीसँग जनशक्ति पनि छैन, यो त सरकारको नीतिमा भर पर्ने कुरा हो,’’ हवलदार चौधरीले भने ।

उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएको सुस्ताका नेपालीले प्रयोग गर्ने नेपाली नम्बर प्लेटका गाडिलाई हेर्ने भारतको दृष्टिकोण नै फरक छ । नेपाली नम्बर प्लेटका गाडीमा भारतबाट समान ओसारपसार गर्न समेत नदिने गरेको शससत्र प्रहरी नीरिक्षक पण्डितले बताए ।

त्यसैले यहाँका अधिकांशले भारतीय नम्बर प्लेककै गाडी प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । यो आफूहरुको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने शसस्त्र प्रहरी नीरिक्षक पण्डितले बताए ।

भारतीय नम्बर प्लेट भएकाले दुर्घटना हुँदा पनि समस्या समाधान गर्न गाह्रो हुने गरेको हवल्दार चौधरीको उनको भनाइ छ । ‘‘सानातिना घटनालाई दुई पक्षलाई राखेर मिलाउने र ठूला घटना भएमा बलिनगर पठाउने गरेका छौं,’’ चौधरीले भने, ‘‘तर यहाँ ट्राफिक प्रहरी नभएकाले चीट काट्ने, राजश्व संकलन गर्ने काम हुन्न ।’’