यमपञ्चकको पहिलो दिन आज काग तिहार, कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी [धनतेरस] पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म [म्ह] पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म [म्ह] पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

कात्तिक २९ गते बुधबार भाइटीका परेको छ । यस दिन बिहान १०:५१  बजे भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।