इजरायल र हमासबीचको युद्दविराम दुई दिन लम्बिने, दुबै तर्फबाट २ सय बन्दी रिहा, नेपालका विपिन जोशीलाई अझै रिहा गरिएन

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह (हमास) बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो । यो समयावधि आज बिहान सकिएसँगै मध्यस्थकर्ता कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिन लम्बिने जनाएको छ ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्समा गाजापट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको उल्लेख गरेका छन् । युद्धविरामको एक पक्ष हमासले पनि थप केही सर्तसहित युद्धविराम विस्तार हुने सूचनालाई पुष्टि गरेको बीबीसीले जनाएको छ ।

चार दिने युद्धविरामको अन्तिम दिन हिजो हमासले ११ जना र आज बिहान इजरायलले थप ३३ प्यालेस्टिनी बन्दीलाई रिहा गरेका छन् । इजरायलको जेलबाट रिहा हुनेहरुमा ३० बालबालिका र तीन जना महिला रहेका छन् ।

सम्झौता अनुसार हमासले एकजना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमति थियो । सम्झौता अन्तर्गत हमासले अहिलेसम्म कुल ५० जना इजरायली बन्धकलाई रिहा गरेको छ ।

बदलामा इजरायलले आफ्नो जेलबाट १ सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो । हमासले २ सय ४० जनालाई बन्धक बनाएको छ । यसको बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ । गाजामा १४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

हमासले बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी भने हालसम्म अज्ञात छन् । हमासले बन्धक बनाएकाहरुको आइतबारसम्म गरी तेस्रो पटकमा रिहाई गर्दा पनि विपिनको अवस्थाबारे भने हालसम्म कुनै पनि कुरा बाहिर आउन सकेको छैन ।